१२ वैशाख,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपत्यकामा भइरहेको सुकुमवासी बस्ती हटाउने अभियानप्रति प्रतिक्रिया दिँदै सरकारलाई मानवीय दृष्टिकोणसहित न्यायोचित समाधान दिन आग्रह गरेका छन्।
सरकारले शनिबार बिहानदेखि काठमाडौं उपत्यकाका मुख्य सुकुमवासी बस्तीहरू खाली गराउने प्रक्रिया अघि बढाइरहेको छ। यस क्रममा थापाथली क्षेत्रका बस्तीहरू हटाइसकिएको छ भने अन्य स्थानमा पनि संरचना हटाउने काम जारी छ।
यसैबीच सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरू बस्ती छोड्न बाध्य हुँदा उनीहरूको पीडा पनि बुझ्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “अदृष्य त्रास र आतंकको छायाँमा आदेश पालना भयो भनेर खुसी मनाउनेहरूले वर्षौंदेखिको बास छोड्न बाध्य भएका ती श्रमिकहरूको आँखा र अनुहारमा देखिएको पीडा पनि देख्न सक्नुपर्छ।”
पोखरेलका अनुसार शहर निर्माणमा यिनै श्रमिकहरूको योगदान रहेको भन्दै उनीहरू बस्तीबाट विस्थापित भइरहेका बेला केवल कानुनी प्रक्रिया पूरा भएको भन्दै उत्सव मनाउनु पर्याप्त नहुने बताएका छन्।
उनले पूर्ववर्ती सरकारले भूमि आयोगमार्फत सुकुमवासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न कानुनी प्रक्रिया अघि बढाएको उल्लेख गर्दै वर्तमान सरकारले पनि मानवीय दृष्टिकोणसहित दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखेका छन्।
“जनताको जनादेश प्राप्त सरकारले प्रभावित नागरिकहरूको विश्वास र भरोसालाई सम्मान गर्दै अविलम्ब न्यायोचित समाधान दिनुपर्छ,” पोखरेलको भनाइ छ।
उनले विश्वास गुमाएका नागरिकहरूको असन्तोष र सम्भावित विद्रोह गम्भीर हुन सक्ने चेतावनीसमेत दिएका छन्।

















