१२ वैशाख,काठमाडौं । सरकारले विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाएपछि प्रभावित परिवारहरूको व्यवस्थापन प्रक्रिया सुरु गरेको छ। बस्ती खाली गरिएपछि अहिले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा उनीहरूको तथ्याङ्क सङ्कलन भइरहेको छ।
हालसम्म २३ परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्। उपत्यका विकास प्राधिकरणले होल्डिङ सेन्टरमा आएका सुकुम्बासीहरूको विवरण सङ्कलन गरिरहेको छ।
थापाथली, गैरिगाउँ लगायतका स्थानबाट विस्थापित भएका परिवारहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी रहेको जनाइएको छ।
यसैबीच, प्रभावितहरूका लागि प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था पनि मिलाइएको छ। काठमाडौं महानगरपालिकाका वडा नं. ११ (बबरमहल), वडा नं. ३१ (भीमसेनगोला) र वडा नं. ३२ (पेप्सीकोला) मा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू सञ्चालनमा ल्याइएका छन्।
सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारहरूलाई आवश्यक प्राथमिक उपचार सेवा उपलब्ध गराउँदै उनीहरूको व्यवस्थापन र अभिलेखीकरण प्रक्रिया अघि बढाइरहेको छ।