१२ वैशाख,वीरगञ्ज । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ पर्सा जिल्लामा शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।
पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार वैशाख १ गतेदेखि ७७ वटै जिल्लामा अभियान सुरु हुनुपर्ने भए पनि पर्सामा भने ढिलाइ हुँदै शनिबार वीरगन्ज–२४ रामगढवास्थित पार्टी कार्यालयमा कार्यक्रम गरी अभियानको थालनी गरिएको हो।
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, अजय चौरसिया, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्रेस पर्साका जिल्ला सचिव तथा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, सहसचिव नवीन सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टी संगठनलाई आधार तहसम्म सुदृढ बनाउने उद्देश्यसहित सुरु गरिएको यो एक महिने अभियान अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिक संवाद जस्ता गतिविधि सञ्चालन गरिनेछ। डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्दै पार्टीलाई पुनः सक्रिय बनाउने लक्ष्य राखिएको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार वैशाखभर सञ्चालन हुने अभियानमा सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रिया अघि बढाइएको छ। यसका लागि केन्द्रीय प्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको तथा प्राविधिक टोली पनि परिचालन गरिएको छ।
उनका अनुसार अभियानको उद्देश्य पार्टीलाई ‘जरा’ अर्थात् आधार तहसम्म पुगेर पुनः सुदृढ बनाउनु हो। हाल कांग्रेसका ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेका छन्, जसमा करिब एक लाख सदस्यको विवरण अपूर्ण वा त्रुटिपूर्ण रहेको बताइएको छ।

















