Logo

१३ वैशाख, चितवन । माडीमा सञ्चालन भइरहेको तेस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव २०८३ भित्र भइरहेका अवैध गतिविधि विरुद्ध आवाज उठाउँदा पत्रकारमाथि भौतिक आक्रमण र दुर्व्यवहार भएको छ। प्रेस सेन्टर नेपालका पूर्व जिल्ला अध्यक्ष एवं पत्रकार सूर्य पाठकमाथि आयोजक समूहले गरेको आक्रमणमा स्थानीय प्रहरीकै भूमिका शंकास्पद देखिएको छ।

पत्रकार पाठकका अनुसार आयोजक भनिने व्यक्तिहरूले उनलाई घेराबन्दी गर्दै “तैले एसपी (जिल्ला प्रहरी प्रमुख) लाई फोन गरेर मेलाभित्रको जुवा रोक्न लगाएको होस्” भन्दै धम्काएका थिए। पाठकले आफूले त्यसो नगरेको बताए पनि उनीहरूले जबर्जस्ती उनको मोबाइल खोसेर खानतलासी गरेका थिए।

अझ गम्भीर तथ्य त के छ भने, आयोजकहरूले नै पत्रकार पाठकका विरुद्ध आक्रोश पोख्नुको कारण इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राईको “गुनासो” रहेको खुल्न आएको छ। इन्स्पेक्टर राईले “सूर्य पाठकका कारण मेलामा जुवा लगायतका अन्य अवैध कार्यमा सघाउन सकिएन” भनी आयोजकलाई उक्साएको र सोही आधारमा आफूमाथि आक्रमण भएको पाठकको भनाइ छ। यसले कानुन कार्यान्वयन गराउनुपर्ने प्रहरी अधिकृत नै अवैध गतिविधि सञ्चालन गर्न पत्रकार बाधक बनेको भन्दै आयोजकसँग मिलेमतोमा रहेको सङ्केत गर्दछ।

महोत्सव स्थलमा सिडिओले तोकेको नियम विपरीत मध्यरातसम्म जुवा खेलाउने कार्य भइरहँदा इन्स्पेक्टर राईको नेतृत्वमा खटिएको टोली मुकदर्शक मात्र बनेको छैन, बरु अवैध कार्य रोक्न दबाब दिने पत्रकारको सूचना आयोजकलाई पुर्‍याएर असुरक्षा सिर्जना गरेको आरोप लागेको छ। प्रहरीकै उपस्थितिमै पाठकमाथि भएको यो दुर्व्यवहारले माडीमा सुरक्षा संयन्त्र र अवैध धन्दा सञ्चालकबीचको सेटिङ छताछुल्ल भएको छ।

जनप्रतिनिधि र दलहरूको मौनता

पत्रकारमाथि ज्यान लिने धम्की दिने र मोबाइल खोस्ने आयोजक समितिका अध्यक्ष हरिकृष्ण लामिछाने, रवि भुर्तेल र होमनाथ भट्टराई लगायतको समूहलाई राजनीतिक संरक्षण रहेको स्थानीयको दाबी छ। माडी नगरपालिकाका मेयर ताराकाजी महतो र प्रदेश सांसद ठाकुर प्रसाद ढकाल लगायतका जनप्रतिनिधिहरूले आफ्नै क्षेत्रमा भएको यस्तो दण्डहीनता र पत्रकारमाथिको आक्रमणका विषयमा हालसम्म कुनै ठोस कदम नचाल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अवैध जुवातासको संरक्षण गर्ने र सत्य लेख्ने पत्रकारलाई असुरक्षित बनाउने यो घटनाले माडी महोत्सव सांस्कृतिक उत्सव नभई आपराधिक प्रवृत्तिको अखडा बन्दै गएको भन्दै नागरिक समाज र पत्रकार सम्बद्ध संस्थाहरूले तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै