१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि प्रतिक्षित संसदीय दलको नेता चयनको प्रक्रियालाई निष्कर्षमा पुर्याउन पार्टीले सक्रियता बढाएको छ ।
दलको नेता चयन गर्ने मुख्य एजेन्डासहित कांग्रेसले भोलि सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । सभापति गगन थापाले उक्त बैठकमा संसदीय दलको नेताका लागि सहमतिको औपचारिक प्रस्ताव पेस गर्ने र सम्भव भएसम्म सर्वसम्मत नाम टुङ्ग्याउने तयारी गरिएको बुझिएको छ ।
कार्यसम्पादन समितिको निर्णयलगत्तै सोही दिन दिउँसो १ बजेका लागि संसदीय दलको बैठक समेत बोलाइएको छ । निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार भोलिको संसदीय दलको बैठकले नेता चयनसम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिई पारित गर्ने कार्यसूची रहेको छ । पार्टीभित्र विभिन्न गुट र आकांक्षीहरूका बीचमा शक्ति सन्तुलन मिलाउनुपर्ने चुनौती रहेकाले भोलिको बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
पछिल्लो समय कांग्रेसभित्र संसदीय दलको नेता चयनको विषयले पार्टीको आन्तरिक समीकरणमा समेत फेरबदल ल्याउन सक्ने आंकलन गरिएको छ । सभापति थापाले सहमतिको आधारमा नेतृत्व चयन गर्न अधिकतम लचकता अपनाउने सङ्केत दिए पनि आकांक्षीहरूको व्यवस्थापन सहज भने देखिएको छैन । यद्यपि, भोलिका दुई महत्त्वपूर्ण बैठकहरूले लामो समयदेखिको अन्योल चिर्दै कांग्रेसलाई नयाँ संसदीय नेतृत्व प्रदान गर्ने विश्वास लिइएको छ ।

















