Logo

१४ बैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ । पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने र आगामी महाधिवेशनको दिशा तय गर्ने एजेन्डासहित बस्न लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

आजको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालद्वारा तयार पारिएको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम छ । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका जिज्ञासा र सुझावहरूलाई समेटेर शीर्ष नेतृत्वले तयार पारेको उक्त प्रस्ताव नै आजको बैठकको मुख्य ‘एजेन्डा’ बन्नेछ । नेता प्रकाश ज्वालाका अनुसार, आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी र सांगठनिक ढाँचामा ठोस निर्णय लिनेछ ।

पार्टी एकीकरणपछिको सबैभन्दा पेचिलो मानिएको जिम्मेवारी बाँडफाँटमा पार्टीले ‘सन्तुलन’ को नीति अख्तियार गर्ने भएको छ। साविकका दुई पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बीचको सन्तुलन मिलाउन ‘इन्चार्ज-सह-इन्चार्ज’ को मोडल प्रयोग गरिने भएको छ।

योजनाअनुसार, कुनै प्रदेश वा विभागमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह-इन्चार्ज पाउनेछ र सोहीअनुसार विपरीत पनि हुनेछ । ३२ वटा विभागहरूमा समेत यही ‘पावर सेयरिङ’ को मोडालिटी लागू हुनेछ। यो निर्णयले दुवै धारलाई समान सम्मान र प्रतिनिधित्वको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ ।

आजको बैठकले पार्टीको विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि छलफल गर्दैछ। तल्लो तहका पालिका र जिल्लाको समायोजनको जिम्मा प्रदेश समितिलाई नै दिने तयारी पनि बैठकको छ।

त्यस्तै, छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ पार्टीले वडा तहदेखि नै अधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। ‘आजको बैठकले महाधिवेशनको मिति र त्यसको कार्यदिशामाथि समेत एउटा टुङ्गो लगाउनेछ,’ नेता ज्वालाले भने।

चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र जनवर्गीय संगठनहरूको एकता प्रक्रियालाई समेत आजको बैठकले गति दिने देखिएको छ । एक महिनाभन्दा बढी समयदेखि चलिरहेको सांगठनिक अन्योललाई चिर्दै आजको बैठकले नेकपालाई पूर्ण आकार दिने र निर्वाचन केन्द्रित रणनीतिमा सक्रिय गराउने नेकपाका नेताहरूको विश्वास छ ।


सम्बन्धित समाचार