Logo

१४ बैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक एवं संरक्षक रेशम चौधरीले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टी र विचार मिल्ने शक्तिहरूको पराजयलाई लिएर गम्भीर समीक्षा गर्नुभएको छ ।

सञ्चारमाध्यमममा उहाँले पार्टीको स्पष्ट कार्यदिशा र एजेन्डा भए तापनि त्यसलाई आधुनिक शैलीमा जनतामाझ पुर्‍याउन नसक्नु नै हारको मुख्य कारण भएको स्वीकार गर्नुभएको हो ।

चौधरीका अनुसार नयाँ पुस्ता (जेनजी) को तीव्र आकांक्षा र पुराना शक्तिहरूप्रतिको वितृष्णाले गर्दा मतदाताले ‘बालेन सरकार’ को नारालाई रुचाए पनि आफ्नो पार्टीले भने जनताको अपेक्षाअनुसार चुनावी रणनीति र विकासका मुद्दाहरू बुझाउन सकेन ।

निर्वाचनको परिणाम र पार्टीको अवस्थाबारे बोल्दै चौधरीले आफ्नै उम्मेदवारी खारेज हुनु र पार्टीभित्रको आन्तरिक द्वन्द्वले पनि चुनावी नतिजामा प्रतिकूल प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।

थरुहट र मधेसका मुद्दाहरूलाई लिएर आफू अझै अडिग रहेको बताउँदै उहाँले आफ्नो पार्टीका धेरै नेताहरू स्वार्थका लागि अन्य दलमा प्रवेश गरेकोमा दुःख व्यक्त गर्नुभयो । भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको मुद्दालाई आफ्नो पार्टीले मात्र बोकेको दाबी गर्दै उहाँले ढिलोचाँडो नागरिक उन्मुक्ति पार्टी पुनः संगठित भएर उठ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजनीतिमा अब नयाँ पुस्ताको स्वामित्व आवश्यक रहेको औँल्याउँदै चौधरीले पुराना नेताहरूलाई अभिभावकत्व ग्रहण गरी नेतृत्व युवाहरूलाई सुम्पिन सुझाव दिनुभएको छ ।

अहिलेको राजनीतिक परिवेश फेरिएको र मतदाताहरू सचेत भइसकेकाले नयाँ कार्यदिशा नअपनाए अस्तित्व जोगाउन कठिन हुने उहाँको ठहर छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको चर्चा गर्दै उहाँले जनमतको कदर गर्दै विकास र परिवर्तनका काम गरेर देखाउन सरकारलाई चुनौती समेत दिनुभएको छ ।


सम्बन्धित समाचार