Logo

१४ बैशाख, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा रहेको व्यावसायिक भवन ‘स्काइलाइन मॉल’ को प्रवद्र्धक कम्पनी स्काइलाइन इन्फ्रा लिमिटेडले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

वैशाख ११ गते वीरगञ्जस्थित होटल सरोवरमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले कुल १७५ करोड रुपैयाँ जारी पूँजीमध्ये ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो।

सञ्चालक समिति अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा बसेको उक्त सभाले आईपीओ निष्काशनसम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनुका साथै संस्थापक समूहको बाँकी शेयर प्रिमियममा बिक्री गर्ने अधिकारसमेत प्रदान गरेको छ।

कम्पनीले हाल सञ्चालनमा ल्याएको ९ तले आधुनिक भवनमा विविध सुविधाहरू उपलब्ध रहेका छन्। भवनको भुईँ तलामा विभिन्न ब्रान्डेड पसलहरू, पहिलो तलामा क्यासिनो र दोस्रो तलामा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा रहेका छन् भने तेस्रो तलादेखि माथि सरोवर समूहको व्यवस्थापनमा ६० कोठा क्षमताको चारतारे होटल सञ्चालन भइरहेको छ। उक्त होटलमा रेष्टुरेन्ट, बैंक्वेट हल र रुफटप रेष्टुरेन्ट जस्ता आधुनिक सुविधाहरू रहेका छन्।

२०८१ सालदेखि सञ्चालनमा आएको यस कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ मा नै मुनाफा आर्जन गरिसकेको र कम्पनीको नेटवर्थ समेत सकारात्मक रहेको जनाएको छ। “Your New Destination” को लक्ष्यसहित वीरगञ्जलाई नयाँ व्यापारिक हबका रूपमा स्थापित गर्ने उद्देश्य राखेको यस कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ।

आईपीओ निष्काशनपछि प्राप्त हुने पूँजीले कम्पनीका परियोजनाहरूलाई थप मजबुत बनाउन र व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार
भर्खरै