Logo

१९ वैशाख,काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले धरान उपमहानगरपालिकाको मेयर पदका आकांक्षीसँग छलफल सुरु गरेको छ।

प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष साम्पाङले स्थानीय तहको निर्वाचन मिति तय नभइसकेकै अवस्थामा धरान–१८ स्थित पार्टीको केन्द्रीय कार्यालय ‘ग्रिन टी’ मा आकांक्षीसँग छलफल गरेका हुन्। सो स्थानबाटै उनले यसअघि प्रतिनिधि सभा सदस्यका उम्मेदवारको टिकट वितरण तथा निर्वाचित सांसदहरूको अभिमुखीकरण समेत गरेका थिए।

छलफलमा धरान–४ का वडाध्यक्ष धनबहादुर राई, व्यवसायी निमाचन्द्र राई, पार्टीका धरान अध्यक्ष दिनेश बान्तवा, नगर सचिव प्रेम श्रेष्ठ र केन्द्रीय सदस्य सुमन श्रेष्ठले मेयर पदमा दाबी प्रस्तुत गरेका छन्।

अध्यक्ष साम्पाङले यो प्रारम्भिक चरणको छलफल मात्र भएको स्पष्ट पार्दै अहिले नै उम्मेदवार टुंगो नलाग्ने बताएका छन्। “हामी छलफलको प्रक्रियामा छौँ, अहिले नै यही उम्मेदवार हो भन्न मिल्दैन,” उनले भने।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान का मेयरमा विजयी भएका साम्पाङले पछि पद त्याग गरी सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडी विजयी भएका थिए।

उनले गत कार्तिकमा आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएका थिए, जसले हाल प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तीन सिट जितेको छ। पार्टीले अबको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धरानमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै