१९ वैशाख,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजक समितिको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै बैठकका ७ बुँदे निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले पार्टी एकता प्रक्रिया टुंग्याउनेदेखि आगामी महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ। साथै वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू अब निर्वाचन प्रक्रियामार्फत गठन गरिने जनाइएको छ।
निर्णयअनुसार पार्टी संरचना समानुपातिक र समावेशी सिद्धान्तमा आधारित हुनेछ। कमिटी निर्माणमा अनुभव, परिपक्वता र युवाको सन्तुलन सुनिश्चित गरिने तथा प्रत्येक कमिटीमा कम्तीमा ५० प्रतिशत युवा प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, पार्टी पुनर्गठनसँगै समग्र कम्युनिस्ट आन्दोलनलाई पनि पुनर्गठन गर्ने पहल गर्ने निर्णय भएको छ। पार्टी पङ्क्तिलाई उत्पादन र श्रममूलक गतिविधिमा नियमित रूपमा जोड्ने अभियान सञ्चालन गर्ने योजना पनि पारित गरिएको छ।
प्रवक्ता ज्वालाका अनुसार यी निर्णयहरू पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउने र आन्दोलनलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यका साथ गरिएको हो।



















