Logo

१९ वैशाख,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले खुला विज्ञापनमार्फत राजदूत नियुक्त गर्ने सरकारी प्रस्तावको विरोध गरेका छन्। रास्वपा नेतृत्वको सरकारले राजदूत छनोटका लागि खुला प्रतिस्पर्धा प्रणाली अपनाउने तयारी गरेको चर्चाबीच उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

रावलले कुनै पनि देशले राजदूत जस्तो संवेदनशील पदमा विज्ञापनमार्फत नियुक्ति गर्ने अभ्यास नगर्ने दाबी गर्दै यस्तो कदम कूटनीतिक दृष्टिले उपयुक्त नहुने बताएका छन्।

उनका अनुसार राजदूत केवल प्रशासनिक पद नभई राजनीतिक तथा कूटनीतिक प्रतिनिधित्वसँग सम्बन्धित जिम्मेवारी हो, जसका लागि राष्ट्रिय हित, सुरक्षा, व्यापार र अन्तर्राष्ट्रिय सम्बन्धबारे गहिरो समझ आवश्यक हुन्छ।

उनले भनेका छन्, “राजदूत विदेशमा देशको प्रतिनिधित्व गर्ने व्यक्ति हुन्। उनीहरूमा देशप्रतिको भक्ति, इमानदारी र विषयगत दक्षता अनिवार्य हुनुपर्छ। विज्ञापन प्रतिस्पर्धाबाट राजदूत छान्ने हो भने सरकारी सेवामार्फत तालिम र अनुभव प्राप्त व्यक्तिहरूबाटै छनोट गर्न सकिन्छ।”

रावलले यस्तो नीति सस्तो लोकप्रियताका लागि ल्याइएको हुनसक्ने भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार राजदूत नियुक्ति सामान्य रोजगारीजस्तो प्रक्रिया होइन र यसलाई हल्का रूपमा लिन नहुने बताए।

उनले थप भने, “नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थामा यस्तो अभ्यासले कूटनीति कमजोर बनाउने जोखिम हुन्छ।”

पूर्व अभ्यासमा भएका कमजोरी सच्याउँदै योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिलाई परम्परागत तथा विश्वव्यापी मान्यताअनुसार राजदूत बनाउनु नै उचित हुने उनको धारणा छ।


सम्बन्धित समाचार
भर्खरै