Logo

 १९ वैशाख,काठमाडौं । स्वर्णिम वाग्ले ले नेपालको वर्तमान आर्थिक अवस्था करिब एक दशकअघिको भारत सँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब देशले आर्थिक छलाङ मार्ने समय आएको बताएका छन्।

बाह्रखरी मिडिया द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी करिब १,५०० डलर रहेको स्मरण गराउँदै अहिले नेपाल पनि सोही स्तरमा पुगेकाले यसलाई ‘आर्थिक प्रस्थान बिन्दु’को रूपमा लिनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म स्थिर रहने दाबी गर्दै उनले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गरिने बताए। विगतमा नीतिगत कब्जा र भ्रष्टाचारले व्यावसायिक वातावरण प्रभावित भएको उल्लेख गर्दै अब कडा कानुन कार्यान्वयन गरिने उनको भनाइ छ।

‘आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ, जसमा लगानीको सुरक्षा, सम्पत्तिको रक्षा र करार कार्यान्वयनलाई प्राथमिकता दिइनेछ,’ उनले भने। इमानदार व्यवसायीलाई संरक्षण गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने सरकारको प्रतिबद्धता पनि उनले व्यक्त गरे।

मन्त्री वाग्लेले आगामी सात वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३,००० डलर र अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिए। भारतले पछिल्ला वर्षहरूमा हासिल गरेको उच्च आर्थिक वृद्धिदर नेपालले पनि पछ्याउन सक्ने उनको विश्वास छ।

कार्यक्रममा अमिताभ कान्तरामेश्वर खनाल का धारणा उद्धृत गर्दै उनले नेपालको पर्यटन, जलविद्युत् र उच्च मूल्यका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए।

भूपरिवेष्टित अवस्थाका कारण उत्पन्न चुनौती समाधानका लागि ‘डिजिटलाइजेसन’लाई प्रमुख उपायका रूपमा अघि बढाइने उनले बताए। सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सूचना प्रविधि विभाग लाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको जानकारी पनि उनले दिए।

सुशासन, कानुनी सुधार र प्रशासनिक झन्झटको अन्त्यलाई प्राथमिकतामा राख्दै सरकार स्पष्ट आर्थिक मार्गचित्रसहित अघि बढ्ने उनको भनाइ छ।


सम्बन्धित समाचार