Logo

२३ बैशाख, चितवन । भरतपुर महानगरपालिका–५ स्थित भवानी डेरीका सञ्चालक देवरथ बरालले गणेशधाम संरक्षण सम्वर्धन समितिलाई ९५ केजीका २ वटा फलाम तथा फाइबरबाट बनेका दानपात्र हस्तान्तरण गरेका छन् । ती दानपात्र अब मन्दिर परिसर बाहिर, श्रद्धालु भक्तजनहरू हिँड्ने मुख्य प्रवेश क्षेत्रमा राखिने भएको छ।

समितिका महासचिव नवराज ढकालका अनुसार भक्तजनहरूले सहज रूपमा दान गर्न सकून् भन्ने उद्देश्यले दानपात्रलाई मन्दिर बाहिरको मुख्य आवागमन मार्गमा राखिने निर्णय गरिएको हो । उनले यसले धार्मिक गतिविधि थप व्यवस्थित र पारदर्शी बन्ने विश्वास व्यक्त गरे ।

सहयोग प्रदान गर्ने भवानी डेरीका सञ्चालक देवरथ बरालले धार्मिक स्थलको संरक्षण र विकासमा आफ्नो सानो योगदान गर्न पाउँदा खुसी लागेको बताए । उनले गणेशधाम जस्तो ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थलको प्रवर्द्धनमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

गणेशधाम भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थानमा अवस्थित छ, जहाँ एकै परिसरमा धेरै देवी–देवताका मन्दिरहरू, ऐतिहासिक इनार, पुराना बर–पिपलका चौताराहरू रहेका कारण यो क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले विशेष महत्व बोकेको स्थलका रूपमा परिचित हुँदै गएको छ ।


सम्बन्धित समाचार