Logo

२६ वैशाख, कलैया (बारा) । राहदानी (पासपोर्ट) लिनका लागि अब बाराका नागरिकले जिल्ला प्रशासन कार्यालयको चक्कर काटिरहनु नपर्ने भएको छ । सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला हुलाक कार्यालय बाराबीच वैशाख २५ गते हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ ।

सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनाको बुँदा नम्बर २७ मा सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उल्लेख छ । सोही योजनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी, नागरिकता, लाइसेन्सजस्ता सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था गरिएको हो। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र जिल्ला हुलाक कार्यालय बाराका प्रमुख दिपक कुमार पटेलबीच यो सेवालाई तत्काल प्रभावकारी रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

यस सेवाका बारेमा जानकारी दिँदै जिल्ला हुलाक कार्यालयका खरिदार गौतम सिंह बस्तीले राहदानी आवेदन दिने समयमै सेवाग्राहीले हुलाकमार्फत घरमै लिन चाहेको कुरा खुलाउनुपर्ने बताए । “राहदानीका लागि आवेदन दिने बेला सेवाग्राहीले एउटा सानो फारम भर्नुपर्छ,” बस्तीले भने, “राहदानी तयार भएर आएपछि हाम्रो कर्मचारीले सम्बन्धित व्यक्तिको ठेगानामै पुर्‍याइदिनेछन्।”

राहदानी लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने र टाढाबाट सदरमुकाम कलैया धाइरहनुपर्ने बाध्यतालाई यो व्यवस्थाले अन्त्य गर्ने विश्वास गरिएको छ । सरकारले १०० दिनभित्रै यस्ता सरकारी कागजातहरू घरमै पुर्‍याउने लक्ष्य राखेकोमा बारा जिल्लाले यसलाई कार्यान्वयनमा ल्याएसँगै स्थानीयबासी उत्साही भएका छन् । यस कदमले हुलाक सेवाको सान्दर्भिकतालाई पुनः स्थापित गर्नुका साथै सार्वजनिक सेवा प्रवाहमा नयाँपन दिएको छ ।

हुलाक कार्यालयले आगामी दिनमा राहदानीबाहेक अन्य महत्त्वपूर्ण सरकारी परिचयपत्रहरू पनि सोही प्रक्रियामार्फत घरदैलोमै पुर्‍याउने गरी तयारी थालेको जनाएको छ ।


सम्बन्धित समाचार