Logo

२९ बैशाख, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संघीय संसद्मा दिएको अभिव्यक्तिलाई लिएर मंगलबारको प्रतिनिधिसभा बैठकमा चर्को विरोध र नियमापत्ति भएको छ ।

बादलले नेपाली सेना र नयाँ शक्तिहरूको उदयका विषयमा दिएको धारणा गैरजिम्मेवारपूर्ण भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले कडा आपत्ति जनाउनुभएको हो। बैठकको आकस्मिक समयमा बोल्दै सांसदद्वयले सेना जस्तो संवेदनशील संस्थाका बारेमा संसद्मा अमर्यादित र हल्का टिप्पणी गरिएको भन्दै उक्त अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन सभामुखसँग जोडदार माग गर्नुभयो ।

विशेष गरी रास्वपा सांसद मनिष खनालले जनताबाट अनुमोदित भएर आएको आफ्नो दलका विरुद्ध पनि नेता बादलले अमर्यादित र गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउनुभयो । लोकतान्त्रिक पद्धति र संसदीय गरिमालाई बेवास्ता गर्दै आएका यस्ता अभिव्यक्तिले संवैधानिक निकाय र जनादेशको अपमान गर्ने सांसद खनालको तर्क थियो ।

राप्रपा सांसद खुश्बु ओलीले पनि राष्ट्रको सुरक्षा र गौरवसँग जोडिएको सेनाका बारेमा संसद्मा गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । दुवै सांसदको नियमापत्तिपछि सदनमा केही बेर बहसको स्थिति सिर्जना भएको थियो भने सभामुखले यसबारे ध्यानाकर्षण भएको जनाउनुभएको छ ।


सम्बन्धित समाचार