३१ वैशाख, माडी चितवन । सम्पदा सम्पन्न माडी नगर–इको कृषि र पर्यटनको सहर भन्ने नारालाई सार्थक बनाउन माडी नगरपालिकाले वातावरण मैत्री र मौलिक अभियान सुरु गरेको छ। टोलको सरसफाइलाई प्रभावकारी बनाउन र नगरलाई प्लाष्टिक मुक्त बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा ुरमाइलो आमा समूहु लाई ५० थान डोको हस्तान्तरण गरिएको छ।
नगरपालिकाले पर्यावरण सन्तुलन राख्न प्लाष्टिकजन्य डस्बिनको साटो स्थानीय स्तरमा उत्पादित बाँसका डोकोलाई फोहोर संकलनको साधनका रूपमा प्रयोग गर्ने अवधारणा अगाडि सारेको हो।
यस अभियानको सबैभन्दा सबल पक्ष स्थानीय स्रोत र श्रमको उपयोग हो। देवेन्द्रपुरस्थित शिवालय मन्दिरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएका डोकाहरू स्थानीय व्यक्तिहरू दिलबहादुर गुरुङ र गंगा बहादुर गुरुङले बुनेका हुन्। प्रति डोको ५०० रुपैयाँका दरले २५ हजार र रङ्ग तथा अन्य सामग्रीमा ५ हजार गरी जम्मा ३० हजार रुपैयाँको लागतमा यो कार्य सम्पन्न भएको आमा समूहकी अध्यक्ष सरस्वती काफ्लेले जानकारी दिनुभयो। यसले स्थानीय बासिन्दाको आयआर्जनमा समेत प्रत्यक्ष टेवा पुर्याएको छ।
हस्तान्तरण कार्यक्रम अगाडि आमा समूहका सदस्यहरूले स्थानीय टोलको सरसफाइ गरेर समुदायमा सक्रियताको उदाहरण प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एवं माडी नगरपालिकाका वातावरण शाखा प्रमुख जितबहादुर बुढाले भन्नुभयो, “नेपाल सरकारको परिपत्र र नगरपालिकाको नीति अनुसार वैशाख २८ देखि जेठ १ सम्म राष्ट्रिय सरसफाइ सप्ताह मनाइँदैछ। प्लाष्टिकको प्रयोग घटाउने र स्थानीय बाँसको प्रयोग बढाउने यो कदम माडीको वातावरणका लागि कोसेढुङ्गा सावित हुनेछ।”
कार्यक्रममा शनि मन्दिर टोल विकास संस्थाकी अध्यक्ष कमला काफ्ले, भजन किर्तन समूहका अध्यक्ष अर्जुन शाही, शनि मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भवानी आचार्य र नगरपालिकाका नक्सा शाखाका प्रतिनिधि सुवास दवाडीको उपस्थिति रहेको थियो। समूहकी सदस्य ज्ञानु सापकोटाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमले छोटो समयमै संस्कृति र सामाजिक क्षेत्रमा नाम कमाएको रमाइलो आमा समूहको उचाइलाई थप बढाएको छ।
प्लाष्टिकजन्य डस्बिनको विकल्पमा डोकोको प्रयोगले एकातिर वातावरण संरक्षणमा मद्दत पुग्नेछ भने अर्कोतिर आयातित सामग्रीको निर्भरता घट्नेछ। टोल–टोलमा राखिएका यी मौलिक डस्बिनहरूले सार्वजनिक सरसफाइमा योगदान पुर्याउने र आगामी पुस्तालाई समेत वातावरण मैत्री जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास गरिएको छ।





















