Logo

२ जेठ, माडी (चितवन) । चितवनको माडी नगरपालिका–५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक १४ वर्षीय विद्यार्थीमाथि शिक्षकद्वारा बर्बरतापूर्वक गरिएको कुटपिटको घटनाले निजी विद्यालयहरूमा कायम रहेको चरम शारीरिक यातनाको भयानक रूपलाई पुनः सतहमा ल्याइदिएको छ ।

कक्षा ८ मा अध्ययनरत दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले कालो वायरिङ पाइपले क्रूरतापूर्वक प्रहार गर्दा उनी घाइते भएका छन् । यस घटनाले विद्यालयजस्तो पवित्र संस्थालाई त्रासको केन्द्र बनाएको भन्दै स्थानीय स्तरमा आक्रोश र कानुनी कारबाहीको माग तीव्र रूपमा उठ्न थालेको छ ।

पीडित परिवारका अनुसार गत शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर निस्केका थिए । उनीहरू कक्षाकोठामा फर्कँदा शिक्षक घले आइसकेका थिए । सोही क्रममा केही सामान्य विवाद हुनासाथ उत्तेजित भएका शिक्षक घलेले कालो वायरिङ पाइप निकालेर तीनै जना विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गर्न सुरु गरे ।

तीमध्ये दीपसनमाथि शिक्षकले झन् बढी रिस साध्दै निर्घात कुटपिट गरे, जसका कारण उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दीपसनलाई तत्काल उपचारका लागि बघौंडा अस्पताल लगिएको थियो, जहाँ उनको चिकित्सकीय परीक्षण र उपचार गरिएपछि हाल उनलाई घरमा राखी औषधि सेवन गराइएको छ ।

यस जघन्य घटनापछि विद्यालय प्रशासनले देखाएको रवैया झनै गैरजिम्मेवार र आपत्तिजनक पाइएको छ । पीडितकी आमा पद्मा कुमारी लम्सालका अनुसार छोराको शरीरमा नीलडाम र गम्भीर चोट देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा उनीहरूले घटनालाई सामान्यीकरण गर्दै “पछि आएर छलफल गरौँला” भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए ।

विद्यालयको यस्तो उदासीनतापछि मात्रै न्यायका लागि भौँतारिएको परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएको हो । घटनाका मुख्य आरोपी शिक्षक घलेले भने यसबारे सम्पर्क गर्दा “पछि खबर गरौँला” भन्दै फोन काट्ने र पछि सम्पर्क विच्छेद गर्ने धृष्टता गरेका छन् ।

यता, विद्यालयका प्रिन्सिपल गुणराज सुवेदीले शिक्षक आवेगमा आएर विद्यार्थीलाई कुटेको स्वीकार गरेका छन् । उनले शुक्रबार बेलुका शिक्षक घले र पीडित परिवारबीच छलफल गराई शिक्षकले माफी मागेको दाबी गरे पनि समाजमा भने “माफी” को नाममा यस्ता कानुनी अपराधलाई गुपचुप राख्ने प्रवृत्तिको कडा आलोचना भइरहेको छ ।

इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको र दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।

नेपालको प्रचलित कानुन तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकामाथि हुने शारीरिक वा मानसिक हिंसालाई पूर्ण रूपमा दण्डनीय अपराध मानेको छ । मनोविद्हरूका अनुसार कक्षाकोठाभित्र सार्वजनिक रूपमा यसरी पाइपले हिर्काउँदा विद्यार्थीको मानसपटलमा गम्भीर र दीर्घकालीन असर पर्छ ।

यसले बालबालिकामा डर, हीनताबोध, आत्मविश्वासको कमी र शिक्षाप्रति नै चरम वितृष्णा पैदा गर्छ । “विद्यालय शिक्षाको मन्दिर हो, त्रास सिर्जना गर्ने ठाउँ होइन” भन्दै अहिले सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म पीडक शिक्षकलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न र विद्यालयहरूलाई दण्डमुक्त शिक्षण संस्कृतिमा लैजान जोडदार माग भइरहेको छ ।


सम्बन्धित समाचार