Logo

२ जेठ,काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार २०० चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २० लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६८ जना चालकलाई कारबाही गरिएको छ। यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५५, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३७ र तीव्र गतिमा सवारी चलाउने १५२ जनालाई पनि कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारी पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ जना कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७२ जनामाथि समेत कारबाही गरेको जनाएको छ।ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गरिँदै आएको भन्दै प्रहरीले सबै चालकलाई नियम पालना गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार