Logo

३ जेठ, काठमाडौँ । राजधानीको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादले उग्र रूप लिँदा एक युवकको बीभत्स हत्या भएको छ । शनिबार राति आफ्नै भिनाजुको चक्कु प्रहारबाट महोत्तरीको गौशाला नगरपालिका–५ स्थायी घर भई हाल थानकोट बस्ने अन्दाजी २०–२५ वर्षीय जाकिर मन्सुरीको मृत्यु भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका भिनाजु ३८ वर्षीय समि अहमदलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। अहमद पनि महोत्तरीकै रैथाने हुन् ।

प्रहरी वृत्त थानकोटका अनुसार शनिबार राति करिब ९:१५ बजे खरिबोटस्थित उनीहरूकै डेरा कोठामा घरायसी विषयलाई लिएर दुईबीच भनाभन सुरु भएको थियो । सामान्य विषयबाट सुरु भएको विवाद बढ्दै गएपछि आक्रोशित बनेका अहमदले कोठामा रहेको तरकारी काट्ने धारिलो चक्कु निकालेर सालो जाकिरमाथि अन्धाधुन्ध प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट रक्ताम्मे भई भुइँमा ढलेका जाकिरलाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल पुर्‍याइएको थियो । तर, अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनिसकेकाले अस्पताल पुर्‍याएको १५ मिनेटमै अर्थात् राति ९:३० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

घटनालगत्तै थानकोट वृत्तबाट खटिएको विशेष प्रहरी टोलीले हत्यामा संलग्न समि अहमदलाई कोठाबाटै घेराबन्दी गरेर पक्राउ गरेको छ । प्रहरीले हत्यामा प्रयोग गरिएको रगतलगायतको चक्कु समेत बरामद गरिसकेको छ ।

प्रहरीले मृतक जाकिरको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पठाएको छ । सामान्य घरायसी मनमुटावमा रिसलाई नियन्त्रण गर्न नसक्दा आफ्नै नातेदारको ज्यान लिने तहसम्म पुगेको यस घटनाको सम्बन्धमा थानकोट प्रहरीले थप गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।


सम्बन्धित समाचार