जेठ, ३ काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको इतिहासमा कामिरिता शेर्पाले फेरि अर्को एउटा स्वर्णिम पाना थपेका छन् ।
५६ वर्षीय भेट्रान आरोही कामिरिताले शुक्रबार (१७ मे २०२६) बिहान १०ः१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्दै ३२औँ पटक सफल आरोहणको अभूतपूर्व कीर्तिमान कायम गरेका हुन् । उनलाई आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले उनको यो ऐतिहासिक सफलताको पुष्टि गर्दै ुएभरेष्ट म्यानुले आफ्नै पुरानो कीर्तिमानलाई तोडेर पर्वतारोहणको क्षेत्रमा नयाँ उचाइ चुमेको जनाएको छ ।
सन् १९९४ बाट सगरमाथाको आरोहण यात्रा सुरु गरेका कामिरिताको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली साहस र गौरवको विश्वव्यापी पहिचान बनेको छ । तीन दशक लामो पर्वतारोहण यात्रामा उनले हिमालका अनेकौँ चुनौती र प्रतिकूल मौसमलाई पराजित गर्दै हरेक वर्षजसो आफ्नो नाममा नयाँ इतिहास लेख्दै आएका छन् ।
उनको यो ३२औँ आरोहणले विश्व पर्वतारोहण समुदायलाई नै चकित तुल्याएको छ भने उनी नेपालको राष्ट्रिय गौरवको प्रतीकका रूपमा थप स्थापित भएका छन् ।
हाल कामिरिता र उनको सहयोगी टोली चुचुरोबाट सुरक्षित रूपमा आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको बताइएको छ। उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य नागरिक अभिनन्दन र स्वागतको तयारी सुरु गरिएको छ ।
हिमालको कठोर वातावरणमा पनि उनको अदम्य साहस र निरन्तरताले विश्वभरका पर्वतारोहीहरूका लागि ठूलो प्रेरणा दिएको छ । उनी सगरमाथा मात्र नभई केटू, चो ओयु, ल्होत्से र मनास्लु जस्ता कयौँ अग्ला हिमालहरूको सफल आरोहण गर्ने विश्वकै गिनेचुनेका कीर्तिमानी आरोही हुन् ।

















