३ जेठ, काठमाडौं । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र लोमान्थाङबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।
लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीमा शुक्रबार राति गरिएको विशेष अपरेशनका क्रममा ५९० कार्टुन भेपसहित दुई वटा कन्टेनर र तीन जनालाई नियन्त्रणमा लिइएको हो । बरामद गरिएको उक्त भेप अवैध रूपमा सीमा पार गराएर नेपाल भित्र्याइएको आशंका गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले भेप तस्करीमा संलग्न रहेको आरोपमा धादिङ र सिन्धुपाल्चोकका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा तथा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका फुन्चुदोर्जे तामाङ र पासाङ शेर्पा रहेका छन् । उनीहरूले दुई वटा कन्टेनरमा लोड गरी उक्त सामग्री लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बरामद गरिएको ५९० कार्टुन भेपको बजार मूल्य निकै उच्च रहेको र यसबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग वा सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
पछिल्लो समय हिमाली नाकाहरूबाट अवैध सामग्री तस्करी हुने क्रम बढेपछि सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानीलाई थप कडा बनाएको छ ।

















