Logo

३ बैशाख, काठमाडौं । वैदेशिक रोजगारीको लोभ देखाएर गरिब युवाहरूमाथि आर्थिक शोषण गर्ने म्यानपावर कम्पनीको कर्तुत सार्वजनिक भएको छ ।

सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ को नीतिलाई लत्याउँदै मलेसिया जाने युवासँग लाखौँ रुपैयाँ असुल्न खोज्ने काठमाडौँ कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ म्यानपावर कम्पनीमाथि प्रहरीले सफल ‘स्टिङ अपरेसन’ चलाएको हो ।

सप्तरीका अजयकुमार यादवसँग वैदेशिक रोजगारीको प्रक्रियाबापत अतिरिक्त ३ लाख रुपैयाँ माग गर्ने उक्त कम्पनीका कर्मचारी (एजेन्ट) लाई प्रहरीले नगद बुझ्न लाग्दै गर्दा तीनकुनेको गैरीगाउँबाट नियन्त्रणमा लिएको छ ।

पीडित यादवले यसअघि नै उक्त कम्पनीको झापा शाखाबाट प्रक्रिया सुरु गरी ७० हजार रुपैयाँ तिरिसकेका थिए । नियमतः बढीमा १० हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्नेमा म्यानपावरले उल्टै ३ लाख रुपैयाँ नदिए जहाज चढ्न नदिने धम्की दिएपछि यादवको वैशाख २९ गतेको उडान रोकिएको थियो ।

म्यानपावरको ज्यादती सहन नसकी उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा हारगुहार गरेपछि मन्त्रालय र प्रहरीको संयुक्त योजनामा यो अपरेसन सफल भएको हो । प्रहरीको टोलीले रकम लेनदेनको योजनाबद्ध निसानामा रहेका कर्मचारीलाई पक्राउ गरेपछि उनले १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकार गरिसकेका छन् ।

यो घटनाले वैदेशिक रोजगारीका नाममा भइरहेको चरम ठगी र सिन्डिकेटको कुरुप ऐना देखाएको छ । प्रहरीले पक्राउ परेका कर्मचारीको साथबाट पीडित यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ भने पीडित यादव आजै मलेसियातर्फ उड्ने तयारीमा छन् ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई कसैले बढी रकम मागेमा वा समस्यामा पारेमा सिधै मन्त्रालयमा सम्पर्क गर्न अपिल गर्दै पक्राउ परेका व्यक्तिमाथि हदैसम्मको कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार