Logo

३ जेठ, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउको सेवनका कारण एकै परिवारका दुई बालबालिकाको ज्यान गएको छ भने एक बालिका अझै जीवनमरणको दोसाँधमा छिन् ।

इच्छाकामना–१, कुलबाङग निवासी श्यामबहादुर चेपाङको परिवारले गत वैशाख २९ गते वनबाट ल्याएको विषाक्त जंगली च्याउको तरकारी खाँदा यो दुखद घटना घटेको हो । च्याउ खाएका परिवारका पाँच सदस्यमध्ये स्वास्थ्यमा जटिल समस्या देखिएपछि तीन जनालाई जेठ १ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा ९ वर्षीया नमुना चेपाङको सोही दिन मृत्यु भएको थियो भने ११ वर्षीय सञ्जय चेपाङको शनिबार राति उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ । च्याउ सेवनबाट बिरामी परेकी १३ वर्षीया मनिता चेपाङको अवस्था अझै गम्भीर रहेको र उनको भरतपुर अस्पतालमा सघन उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार समयमै अस्पताल पुर्‍याउन नसक्दा र विषाक्त च्याउको कडा प्रभावका कारण बालबालिकाको ज्यान जोगाउन कठिन भएको हो। ग्रामीण भेगमा जंगली च्याउको पहिचान नगरी उपभोग गर्दा बर्सेनि यस्ता हृदयविदारक घटनाहरू दोहोरिने गरेका छन् ।


सम्बन्धित समाचार