३ बैशाख, काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मार्दै ‘बिचुटेन डेटा वर्ल्ड’ले काठमाडौँ र वीरगन्जमा अत्याधुनिक ‘टियर–४ हाइपरस्केल एआई डेटा सेन्टर निर्माण गर्ने भएको छ ।
पाँच अर्ब रुपैयाँको लगानीमा सञ्चालन हुन लागेको यस परियोजनाका लागि विश्वप्रसिद्ध टेक जायन्ट गुगलसँग पाँच वर्षको रणनीतिक सहकार्य गरिएको छ । कम्पनीका प्रबन्धनिर्देशक नवीन अग्रवालका अनुसार, यो डेटा सेन्टरले केवल डेटा भण्डारण मात्र नगरेर गुगलका विभिन्न डिजिटल सेवा र कृत्रिम बौद्धिकता सम्बन्धी प्लेटफर्महरू पनि नेपालमै उपलब्ध गराउनेछ। यस सहकार्यले नेपाललाई दक्षिण एसियाकै सूचना प्रविधि हब बनाउने लक्ष्य राखेको छ ।
यो परियोजना विशुद्ध नेपाली लगानीकर्ताहरूको प्रयास हो, जसमा नवीन अग्रवालसहित मीन अग्रवाल, अनुज क्याल, विकास कुमार जाटिया र शरद गोयल जस्ता स्थापित व्यवसायीहरू सामेल छन् । कम्पनीले काठमाडौँको चोभार र वीरगन्जमा भौतिक संरचना निर्माण गरिरहेको छ, जसको प्राविधिक पूर्वाधार र ‘वान–स्टप सोलुसनु को जिम्मेवारी भारतीय प्रसिद्ध आईटी कम्पनी भीभीडीएनलाई दिइएको छ ।
२०० जना नेपाली दक्ष जनशक्तिले रोजगारी पाउने
अगस्ट २०२६ सम्ममा काठमाडौँको र सेप्टेम्बरसम्ममा वीरगन्जको सेन्टर सञ्चालनमा ल्याउने तयारी छ । सुरुवाती चरणमा २४० किलोवाट क्षमताबाट सुरु गरिने यस परियोजनालाई भविष्यमा ५ मेगावाटसम्म विस्तार गर्ने योजना छ ।
आर्थिक र सामाजिक दृष्टिकोणले पनि यो परियोजना निकै महत्त्वपूर्ण मानिएको छ । यसबाट प्रत्यक्ष रूपमा २०० जना नेपाली दक्ष जनशक्तिले रोजगारी पाउनेछन् भने नेपालको डेटा नेपालमै सुरक्षित रहने सुनिश्चितता गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत यस लगानीलाई प्रोत्साहन गर्दै आगामी बजेटमार्फत नीतिगत सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
कम्पनीले भविष्यमा डेटा सेन्टरको सफलतापछि ‘मेक इन नेपाल’ अभियान अन्तर्गत नेपालमै ल्यापटप, ट्याब्लेट र क्यामेरा जस्ता विद्युतीय उपकरण उत्पादन गर्ने दीर्घकालीन लक्ष्य समेत सार्वजनिक गरेको छ ।

















