Logo

३ जेठ, काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेसँगै सिंहदरबारभित्रका सरकारी कार्यालय र मन्त्रालयहरूको व्यवस्थापनमा नयाँ दृश्य देखिएको छ ।

संघीय मामिला मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एकापसमा गाभिएपछि अब एकीकृत मन्त्रालयको कामकाज साविकको भूमि व्यवस्था मन्त्रालय रहेको भवनबाट सञ्चालन हुन थालेको छ । यसरी मन्त्रालयहरू एकीकृत भएसँगै कर्मचारी व्यवस्थापन र कार्यसम्पादनलाई सहज बनाउन भौतिक पूर्वाधारका संरचनाहरूमा पनि अदलबदल गरिएको हो ।

संरचनागत सुधारकै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाम परिवर्तन गरी ‘पूर्वाधार विकास मन्त्रालयु बनाइएको छ, जसलाई हाल साविकको सहरी विकास मन्त्रालय रहेको भवनमा स्थानान्तरण गरिएको छ ।

मन्त्रालयहरू गाभिएपछि र नाम फेरिएपछि पुराना बोर्डहरू हटाउने र भवनमा लेखिएका नामहरू मेटेर नयाँ पहिचान दिने काम तीव्र पारिएको छ । यस प्रक्रियाले सिंहदरबारभित्रको कार्यविभाजन र भौतिक उपस्थितिमा नयाँपन ल्याएको छ ।

अर्कोतर्फ, युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयमा गाभिएपछि सो मन्त्रालयले ओगटेको भवनमा अब प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यालय राखिएको छ ।

प्रशासनिक खर्च कटौती र कार्यकुशलता अभिवृद्धि गर्ने सरकारको लक्ष्य अनुरूप मन्त्रालयहरूको पुनर्संरचना भएसँगै रिक्त भएका र गाभिएका कार्यालयहरूमा नयाँ संवैधानिक निकाय र विभागहरू व्यवस्थापन गर्ने कार्यले प्राथमिकता पाएको छ ।


सम्बन्धित समाचार