४ जेठ, काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धले पछिल्लो समय थप उग्र रूप लिएको छ ।
युक्रेनले आइतबार राति रुसको मुटु मानिने राजधानी मस्कोलाई लक्षित गरी एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ । रुसी अधिकारीहरूका अनुसार यस भीषण हमलामा परी एक भारतीय नागरिकसहित कम्तीमा तीन जनाको ज्यान गएको छ । रुसी सरकारी समाचार एजेन्सी तासले विगत बाह्र महिनाको अवधिमा मस्कोमाथि भएको यो नै सबैभन्दा घातक र ठूलो हवाई आक्रमण भएको पुष्टि गरेको छ ।
यस आक्रमणमा विदेशी नागरिकसमेत निशानामा परेका छन् । मस्कोस्थित भारतीय दूतावासले भिडन्तको चपेटामा परी एक भारतीय नागरिकको मृत्यु भएको र अन्य तीन जना गम्भीर घाइते भएको जनाएको छ । दूतावासले घाइतेहरूको उपचार र कानुनी प्रक्रियाका लागि आवश्यक समन्वय भइरहेको उल्लेख गरेको छ। युक्रेनले पनि मस्कोमा गरिएको यस सैन्य कारबाहीको जिम्मेवारी लिएको छ ।
उता युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मस्कोमाथिको यो हमला पूर्णतया जायज र स्वाभाविक भएको दाबी गरेका छन् । रुसले लगातार युक्रेनी सहरहरूलाई निशाना बनाएर आम नागरिकमाथि घातक हमला गरिरहेकाले त्यसको जवाफ दिनु आफ्नो देशको बाध्यता र अधिकार दुवै भएको जेलेन्स्कीको भनाइ छ ।
केही समयअघि मात्रै रुसले युक्रेनको राजधानी किएभमा व्यापक ड्रोन र मिसाइल वर्षा गर्दा २४ जना सर्वसाधारणले ज्यान गुमाउनु परेको थियो, जसको बदलास्वरूप युक्रेनले यो अप्रत्यासित कदम चालेको विश्लेषण गरिएको छ ।

















