४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्लेकार्ड र पर्चा देखाएर विरोध प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले त्यस्तो कार्य कानुन र संसद्को नियमावली विपरीत रहेको भन्दै सचेत गराएका छन् ।
सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको आसन अगाडि (वेल) पुगेर प्लेकार्ड र पर्चासहित उठेर प्रदर्शन गरेपछि संसद्को वातावरण केही बेर तताएको थियो । सांसदहरूको सो शैलीप्रति तत्कालै आपत्ति जनाउँदै सभामुख अर्यालले संसद्को गरिमा कायम राख्न निर्देशन दिएका हुन् ।
आफ्नै अगाडि उभिएर पर्चा देखाइरहेका सांसदहरूलाई लक्षित गर्दै सभामुख अर्यालले संसद्मा विरोध गर्ने पनि निश्चित नियम र परिधि हुने स्मरण गराए । ‘पर्चा देखाएर सदनमा प्रदर्शन गर्न हाम्रा कानुन र नियमावलीले अनुमति दिएको छैन’ सभामुख अर्यालले कडा शब्दमा भने, ‘विरोध गर्ने विभिन्न संसदीय शैली र तरिकाहरू हुन्छन् ।
म माननीय सदस्यहरूलाई मर्यादामा बसेर मात्र आफ्नो विरोध प्रकट गर्न आदेश दिन्छु। आगामी दिनमा सदनको गरिमा र मर्यादालाई ख्याल गरेर मात्र आफ्ना गतिविधि अगाडि बढाउनुहोला ।’

















