४ जेठ, काठमाडौँ । नेपाली क्रिकेटका जादुमयी लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) क्रिकेटमा इतिहास रच्दै विश्वकै सबैभन्दा छिटो १५० विकेट लिने बलरको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा सन्दीपले यो अभूतपूर्व सफलता हात पारेका हुन् । यससँगै उनले विश्व क्रिकेटका हस्ती बलरहरूलाई पछि पार्दै नेपाली क्रिकेटको नाम विश्वमञ्चमा स्वर्ण अक्षरले कोर्न सफल भएका छन् ।
यसअघि यो विश्व रेकर्ड अस्ट्रेलियाका तीव्र गतिका स्टार बलर मिचेल स्टार्सको नाममा सुरक्षित थियो । स्टार्सले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्ध खेल्दै ७७ खेलमा १५० विकेटको आँकडा छोएका थिए। तर, नेपाली स्पिनर सन्दीपले मात्र ७३ ओडीआई खेलको ७१ इनिङ्समै १५० विकेटको जादुमयी सङ्ख्या पूरा गरेर स्टार्सको सो ऐतिहासिक रेकर्डलाई ध्वस्त बनाइदिए। स्कटल्यान्डविरुद्धको खेलमा व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले यो सफलता चुमेका हुन् ।
खेलको १२औँ ओभरमा जर्ज मुन्सेलाई आउट गरेका सन्दीपले २०औँ ओभरको अन्तिम बलमा खतरनाक ब्याटर ब्रान्डन मकमलेनलाई इशान पाण्डेको हातबाट क्याच आउट गराउँदै विश्व क्रिकेटमा आफ्नो साम्राज्य खडा गरे ।
एकदिवसीय क्रिकेटमा सन्दीपको यो पहिलो विश्व कीर्तिमान भने होइन । यसअघि ओडीआईमा सबैभन्दा छिटो (मात्र ४२ खेलमा) १०० विकेट लिने विश्व रेकर्ड पनि सन्दीपकै नाममा दर्ता छ । लगातार तीन खेलमा ४–४ विकेट लिने दुर्लभ कीर्तिमान समेत बनाएका सन्दीपको ओडीआईमा उत्कृष्ट बलिङ प्रदर्शन सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ११ रन खर्चेर ६ विकेट लिनु रहेको छ ।
सन्दीपको यो पछिल्लो ऐतिहासिक उपलब्धिले नेपाली क्रिकेट समर्थकहरूलाई खुसीको लहर ल्याइदिएको छ भने विश्व क्रिकेट जगतलाई पुनः एकपटक स्तब्ध बनाएको छ ।

















