४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आकस्मिक समयमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राखेको मन्तव्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कडा शब्दमा नियमापत्ति जनाएकी छन् ।
संसद्को बैठकमा सांसद राईले आफ्नो भनाइ राख्ने क्रममा किसानका समस्या र वन्यजन्तुको त्रासको प्रसङ्ग जोड्दै ‘बाँदरलाई मार्न पाउनुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि सदनको वातावरण तरंगित बनेको हो । सांसद राईको सो अभिव्यक्ति वन्यजन्तु संरक्षण र संसदीय मर्यादा विपरीत भएको भन्दै सांसद तामाङले तत्कालै उठेर नियमापत्ति प्रकट गरेकी हुन् ।
उनले संसद् जस्तो गरिमामय ठाउँमा उभिएर वन्यजन्तुलाई मार्ने जस्ता हिंसात्मक र गैरकानुनी कुरा बोल्न नपाइने जिकिर गरिन्। यस्ता संवेदनशील र आपत्तिजनक वाक्यले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै सांसद तामाङले ध्रुवराज राईले बोलेको सो वाक्य संसद्को आधिकारिक रेकर्डबाट तत्काल हटाउन (संसद्को भाषामा ‘एक्सपन्ज’ गर्न) सभामुखसँग माग गरेकी छन् ।

















