४ बैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन कमजोर रहने र औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरे पनि प्राकृतिक विपद्को जोखिम भने झनै बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुन कमजोर हुने बित्तिकै प्राकृतिक प्रकोप हुँदैन भनेर ढुक्क बस्न नहुने मौसमविद्हरूको भनाइ छ । यस्तो अवस्थामा वायुमण्डलमा तापक्रम बढ्न गई स्थानीय मौसम प्रणालीहरू थप शक्तिशाली हुने र त्यसले छोटो समयमै कुनै निश्चित क्षेत्रमा अकल्पनीय प्रलय निम्त्याउन सक्ने चेतावनी विभागले दिएको छ ।
मौसम प्रणालीको वैज्ञानिक विश्लेषण गर्दै विभागले मनसुनी हावा एकनाशले नचली बीचमा रोकिएमा वायुमण्डल अत्यधिक ताप्ने र ६-७ दिनपछि एकैचोटि आउँदा स्थानीय वायु झन् सक्रिय हुने जनाएको छ ।
यस्तो स्थितिमा देशभर एकैनासले नभई निश्चित क्षेत्रमा मात्रै बादल केन्द्रित भएर मुसलधारे वर्षा गराउने ‘खण्डवृष्टि’ (क्लाउड बर्स्ट जस्तै) हुने गर्दछ । चैत, वैशाख र जेठको प्रि–मनसुनमा जस्तै आकाशमा एक्कासि कालो बादल मडारिएर सीमित भूभागमा ठूलो पानी खनिँदा पहाडमा भीषण पहिरो जाने र नदीहरूमा अप्रत्यासित बाढी आई तटीय क्षेत्रका बस्तीहरू नै बगाउन सक्ने गम्भीर खतरा रहन्छ ।
यस किसिमको वातावरणीय र प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै विभागले सरकार तथा सरोकारवाला निकायहरूलाई बाढी-पहिरो पूर्वतयारी तथा प्रतिकार्य योजनालाई थप चुस्त राख्न सुझाव दिएको छ । वर्षा कम हुने आसमा सम्भावित जोखिमको कम आकलन गर्ने गल्ती नगर्न सचेत गराउँदै विभागले उद्धार टोली, राहत सामग्री र आश्रयस्थलहरूलाई उच्च सतर्क अवस्थामा राख्न आग्रह गरेको छ ।
विपद्को समयमा तत्काल कार्यक्षेत्रमा खटिनका लागि देशका जोखिमयुक्त संवेदनशील क्षेत्रहरू पहिचान गरी पूर्वतयारी सघन बनाउनु पर्नेमा मौसमविद्हरूले विशेष जोड दिएका छन् ।

















