४ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गते घटेको घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोगद्वारा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म गुमराहमा राखिएको भन्दै सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् ।
आयोगकी सदस्य लिली थापाको नेतृत्वमा बनेको विशेष समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारे पनि त्यसलाई बाहिर ल्याउन नदिइएकोमा उनले आपत्ति जनाए । ‘लिली थापा नेतृत्वको समितिले तयार पारेको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न कसले, किन र कुन स्वार्थका कारण रोक्यो ? यसको स्पष्ट जानकारी सदनले पाउनुपर्छ,’ सांसद केसीले प्रश्न गरे। नागरिकको मानवअधिकारसँग जोडिएको यति संवेदनशील विषयको प्रतिवेदन लुकाइनु रहस्यमय भएको उनको तर्क थियो ।
यसैगरी, सांसद केसीले सोही घटनाको अनुसन्धानका लागि गठित पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदन अपूरो र त्रुटिपूर्ण रहेको दाबी गरे । उनले कार्की नेतृत्वको आयोगको प्रतिवेदनले घटनाको गहिराइसम्म पुगेर वास्तविक तथ्य बाहिर ल्याउन नसकेकाले त्यसलाई परिमार्जन गरी पूर्ण बनाउनुपर्ने माग समेत राखेका छन् ।
घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउन दुवै प्रतिवेदनको विस्तृत अध्ययन र सार्वजनिकिकरण अपरिहार्य रहेकोमा उनले जोड दिएका छन् ।

















