Logo

४ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकको कडा नियामकीय फन्दामा हिमालयन बैंक लिमिटेड परेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा केन्द्रीय बैंकले आधा दर्जनभन्दा बढी बैंकिङ नियम र निर्देशनहरू उल्लंघन गरेको भेट्टाएपछि हिमालयन बैंकमाथि कारबाहीको डन्डा चलाएको हो । राष्ट्र बैंकले गरेको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षण (फिल्ड इन्स्पेक्सन) का क्रममा बैंकले वित्तीय अनुशासन मिचेर व्यापक अनियमितता गरेको तथ्य फेला परेपछि यो कदम चालिएको हो ।

निरीक्षणका क्रममा हिमालयन बैंकले सीमित पहुँचवाला ऋणीहरूलाई पोस्ने गरी ‘ब्याक डेट’ (अघिल्लो मिति) देखि लागू हुने गरी ब्याजको प्रिमियम दरमा नियमविपरीत छुट दिएको भेटिएको छ । सोही छुट रकमलाई बक्यौता ब्याज र साँवा भुक्तानीमा मिलान गरेको, र तोकिएको समयसीमा नाघिसकेपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत मात्र रकम लिएर कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना (रिस्ट्रक्चरिङ) गरेको गम्भीर कैफियत फेला परेको छ ।

यति मात्र नभई, बैंकले भाखा नाघेको किस्ताको साँवालाई मात्र खराब कर्जामा राखेर बाँकी साँवा रकमलाई भने ‘असल कर्जा’ मै देखाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) समेत नगरेर वास्तविक वित्तीय अवस्था लुकाउन खोजेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकको बदमासी यतिमा मात्र सीमित छैन, केही कर्जाहरूलाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरिएको, ऋणीहरूको भुक्तानी अवधि अस्थायी रूपमा लामो समयसम्म बढाइएको र ९० दिनभन्दा बढी बक्यौता रहेका ‘फोर्स लोन’ लाई खराब कर्जामा वर्गीकरण नगरी प्रोभिजनिङ नगरेको पाइएको छ ।

एकीकृत निर्देशन २०८१ को धज्जी उडाएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम हिमालयन बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कडा शब्दमा सचेत गराइएको छ ।

साथै, आगामी दिनमा यस्ता गल्ती नदोहोऱ्याउन र तत्काल सुधारात्मक कदम चाल्नका लागि राष्ट्र बैंकले बैंकको सञ्चालक समितिलाई लिखित रूपमै कबुलियतनामा समेत गराएको छ ।


सम्बन्धित समाचार