४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा संसद्को कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ नियमावलीको मस्यौदा पेस गरिएको छ ।
सोमबार बसेको सदनको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका हुन् । नयाँ नियमावली पेस भएसँगै संसदीय अभ्यासलाई समयानुकूल परिमार्जन गर्ने बाटो खुलेको छ ।
नयाँ नियमावलीमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै सांसदहरूले संसद्को गरिमा बढाउन र स्थापित असल संसदीय प्रणालीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद युवराज दुलालले संसद् केवल गफ गर्ने अखडा मात्र नभएर परिणाममुखी काम गर्ने थलो हुनुपर्ने धारणा राखे ।
नियमावलीमा व्यवस्था गरिने प्रावधानहरूले सरकारलाई सदनप्रति बढीभन्दा बढी जवाफदेही र उत्तरदायी बनाउन सक्नुपर्ने भन्दै सांसद दुलालले यस्तो व्यवस्थाले मात्र समग्र मुलुक र नागरिकको हित गर्ने जिकिर गरे ।
यसैगरी, नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले संसद्को ‘मिनी संसद्ु मानिने संसदीय समितिहरूलाई थप शक्तिशाली र प्रभावकारी बनाउन नियमावलीमै स्पष्ट व्यवस्था हुनुपर्ने माग गरे । विचाराधीन विधेयक तथा अन्य महत्त्वपूर्ण कार्यसूचीहरूमा सम्बन्धित विभागीय मन्त्रीको अनिवार्य उपस्थितिको सुनिश्चितता भए÷नभएकोबारे प्रश्न उठाउँदै उनले संसद्मा सांसदहरूलाई पर्याप्त प्रश्न गर्ने र संशोधन प्रस्ताव दर्ता गर्ने समय दिइनुपर्नेमा जोड दिएका छन् ।
सांसद केरुङले मस्यौदाको गम्भीर अध्ययन गरी आवश्यकताअनुसार दफावार छलफलका क्रममा संशोधन प्रस्ताव दर्ता गराउने समेत स्पष्ट पारेका छन् ।

















