४ जेठ, काठमाडौँ । कम्बोडियाको अस्पतालमा ६ दिनदेखि अलपत्र धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा कानुनी र आर्थिक जटिलता उत्पन्न भएको छ ।
वैधानिक श्रम स्वीकृति विना वैदेशिक रोजगारीमा गएका नागरिकको मृत्यु हुँदा शव ल्याउने सरकारी कोष नहुँदा समस्या परेको परराष्ट्रमन्त्री शिशिर खनालले खुलासा गरेका छन् । धादिङको धुनीवेशी नगरपालिका–९ जुगेडीका ४२ वर्षीय राईको गत वैशाख २९ गते कम्बोडियाको काल्मेट अस्पतालमा मस्तिष्क रक्तस्राव (हेमोरेजिक स्ट्रोक) का कारण उपचारका क्रममा मृत्यु भएको थियो ।
परिवारको कमजोर आर्थिक अवस्था र कानुनी प्रक्रिया नमिल्दा शव नेपाल ल्याउन नसकिएपछि मृतककी श्रीमती जुनु राईले उद्धारका लागि सरकारसँग हारगुहार गरिरहेकी छिन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार मन्त्रालयले कूटनीतिक तहबाट शव नेपाल ल्याउन निरन्तर सहजीकरण गरिरहेको भए पनि बजेट अभाव मुख्य बाधक बनेको छ । ‘वैध रूपमा श्रम स्वीकृति लिएर गएका नेपालीको हकमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोरिन्छ, तर भिजिट भिसा वा अवैध तरिकाले गएकाहरूको हकमा सरकारसँग हालसम्म कुनै छुट्टै कोषको व्यवस्था छैन,’ मन्त्री खनालले स्पष्ट पारे ।
उनले यस्ता घटनामा मृतकका परिवार वा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आर्थिक सहयोगमा शव ल्याउने गरिएको स्मरण गराउँदै यसपटक पनि एनआरएनएसँग सहयोगका लागि आग्रह गरिएको जानकारी दिएका छन् ।
मृतक राई गत वर्षको भदौमा भारतको बाटो हुँदै अवैध रूपमा कम्बोडिया पुगेका थिए । कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार राई त्यहाँ भिसाको अवधि सकिएर ओभर स्टे बसिरहेका थिए ।
दूतावासले कम्बोडिया सरकारसँग समन्वय गरी उनको ‘ओभर स्टे’ जरिवाना माफी गराएर वैशाख ३० गते नेपाल फर्काउने अन्तिम तयारी गरिरहेकै बेला अघिल्लो दिन उनको आकस्मिक निधन भएको थियो ।
बिरामी अवस्थामा नै दूतावासले परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराए पनि अन्ततः उनको मृत्यु भएपछि शव नेपाल ल्याउने खर्चको व्यावहारिक संकट आइलागेको हो, जसले अवैध वैदेशिक रोजगारीको भयावह र असुरक्षित पाटोलाई पुनः छताछुल्ल पारेको छ ।

















