४ जेठ, काठमाडौँ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भनी गलत सूचना सार्वजनिक गरेको विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक वृत्त र आम नागरिकसमक्ष माफी मागेको छ ।
इरानको स्थानीय अदालतमा झाविरुद्धको मुद्दा अझै विचाराधीन रहेको र उनी थुनामै रहेको पुष्टि भएपछि मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यसअघि परराष्ट्रमन्त्री शिशिर खनालद्वारा सार्वजनिक गरिएको भ्रामक विवरणप्रति गम्भीर गल्ती स्वीकार गरेको हो । राज्यको संवेदनशील निकायबाट बिनाप्रमाण एक महिनाअघि नै रिहािको झुटो प्रचार गरिएका कारण सरकारी सञ्चार संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
मन्त्रालयका अनुसार गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको गलत सूचना पठाएका थिए । सोही सूचनाका आधारमा परराष्ट्रको सम्बन्धित महाशाखा प्रमुखले मन्त्री खनाल र सचिव अमृतबहादुर राईलाई जानकारी गराएपछि मन्त्रालयले हतार–हतार झा रिहा भएको अनौपचारिक विज्ञप्ति जारी गरेको थियो ।
सोही दिन मन्त्री खनालले समेत आफ्नो सामाजिक सञ्जालमा उक्त उपलब्धि दाबी गर्दै पोस्ट गरेका थिए भने मन्त्रालयले झाको परिवारलाई समेत खुसीको खबर भन्दै आश्वस्त पारेको थियो । तर, उनलाई नेपाल फिर्ता ल्याउने लिखित प्रमाण जुटाउने क्रममा उनी रिहा नै नभई थुनामै रहेको रहस्य खुलेपछि मन्त्रालयको यो लज्जास्पद बदनामी सार्वजनिक भएको हो ।
वास्तविकतामा, झा इरानको क्वेसहम् टापुमा अवैध सामान तस्करी र ओसारपसार गरेको गम्भीर अभियोगमा पक्राउ परेका हुन् र उनी हाल बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन् । इरानी अदालतले झाको मुद्दामा विज्ञ टोलीको प्रतिवेदन तयार गर्न आदेश दिएको र उक्त प्रतिवेदन अदालतमा बुझाउने प्रक्रियामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
विचाराधीन मुद्दाको अन्तिम निरूपण इरानको कानुनअनुसार नै हुने भए पनि झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि उपलब्ध सबै माध्यम प्रयोग गरी कूटनीतिक पहल जारी राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

















