४ जेठ, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले तालिकाको शीर्ष स्थानमा रहेको बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डलाई ६ विकेटले स्तब्ध पारेको छ ।
जारी त्रिकोणात्मक शृङ्खलामा दोस्रो जित दर्ता गरेसँगै नेपाल लिग–२ को अङ्कतालिकामा दुई स्थान फड्को मार्दै पाँचौँ स्थानमा उक्लन सफल भएको छ । स्कटल्यान्डले जितका लागि दिएको १९५ रनको मध्यम लक्ष्यलाई नेपालले ३८ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै सहजै प्राप्त गर्यो ।
नेपालको यो सानदार जितको मुख्य नायक कप्तान रोहित पौडेल र युवा ब्याटर इशान पाण्डे बने । कुशल भुर्तेल (२८ रन) र आसिफ शेख (२९ रन) ले ५८ रनको बलियो ओपनिङ साझेदारी गरेर ओरालो लागेको इनिङ्सलाई रोहित र इशानले शतकीय साझेदारी गर्दै जितको दिशा दिए ।
कप्तान रोहितले ९८ बलमा ५ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७४ रनको अविजित इनिङ्स खेले। उनलाई बलियो साथ दिएका इशानले ६१ बलमा ५५ रनको अर्धशतकीय योगदान दिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए पनि आरिफ शेख ८ रनमा अविजित रहँदै नेपाललाई जिताए। स्कटल्यान्डका मार्क वाटले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड नेपाली बलरहरूको घातक बलिङसामु निरिह बन्दै ३९.१ ओभरमा १९४ रनमै अलआउट भएको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दै आक्रामक ७३ रन बनाए भने माइकल इंग्लिसले ५१ रनको अर्धशतक जोडे ।
जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन जोड्नु बाहेक अन्य ब्याटर सस्तैमा समेटिए । स्कटल्यान्डलाई सस्तैमा रोक्न नेपालका स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै ८ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ४ विकेट चट्काए । नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट बाँडे ।
यो खेल नेपाली लेग स्पिनर सन्दीप लामिछानेका लागि ऐतिहासिक र अविस्मरणीय बन्यो । १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिएका सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियाका मिचेल स्टार्कको विश्व कीर्तिमान भङ्ग गरेका छन् ।
स्टार्कले ७७ खेलमा बनाएको कीर्तिमानलाई सन्दीपले मात्र ७३ खेलमा आफ्नो नाममा गराउँदै नयाँ इतिहास रचेका हुन् । यो ऐतिहासिक जितपछि २७ खेलबाट २२ अङ्क जोडेको नेपाल पाँचौँ स्थानमा पुगेको छ भने पराजित स्कटल्यान्ड ३८ अङ्कका साथ शीर्ष स्थानमै यथावत् छ । अब नेपालले शृङ्खलाको अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ ।

















