Logo

४ जेठ, काठमाडौँ । सर्वोच्च अदालतभित्र कामु प्रधानन्यायाधीश र अदालत प्रशासनबिचको आन्तरिक टकराव उत्कर्षमा पुगेपछि कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध परेका रिट निवेदनहरू दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको स्पष्ट आदेशलाई सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले अवज्ञा गर्दै कार्यालय छाडेर हिँडेपछि न्यायपालिकामै अभूतपूर्व संकट चुलिएको हो । यो गम्भीर परिस्थितिबारे छलफल गरी आगामी कदम तय गर्न बारले सोमबार अपराह्न ४ बजेका लागि बैठक डाकेको छ ।

घटना विवरणअनुसार, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका रिटहरू अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेपछि नेपाल बार एसोसिएसनले कामु प्रधानन्यायाधीश मल्लको लिखित र मौखिक ध्यानाकर्षण गराएको थियो । बारको दबाबपछि कामु प्रधानन्यायाधीश मल्लले सोमबार बिहान मुख्य रजिस्ट्रार विमल पौडेललाई दिउँसो १ बजेभित्र ती सबै रिटहरू अनिवार्य दर्ता गर्न आदेश दिएकी थिइन् ।

तर, उक्त आदेश कार्यान्वयन गर्नुको साटो मुख्य रजिस्ट्रार पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सर्वोच्च अदालतको कार्यालय नै छाडेर बाहिरिएका थिए, जो ढिलोसम्म्म पनि कार्यालय फर्केका छैनन् ।

यता, रिट निवेदक रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामु प्रधानन्यायाधीशको आदेश हुँदा समेत आफ्नो रिट अझै दर्ता हुन नसकेको पुष्टि गरेका छन् । स्रोतका अनुसार, प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा स्वयम्‌ले आफूविरुद्धका रिटहरू दर्ता नगर्न मुख्य रजिस्ट्रारलाई दबाबमूलक निर्देशन दिएका कारण यो प्रशासनिक संकट निम्तिएको हो ।

कामु प्रधानन्यायाधीशको आदेशलाई कर्मचारीले लत्याएर हिँडेपछि आक्रोशित बनेको बारका अध्यक्ष प्राध्यापक डा। विजयप्रकाश मिश्रले कर्मचारी नै दर्ता प्रक्रिया रोकेर बाहिरिएकाले थप रणनीति बनाउन बैठक बस्न लागेको जानकारी दिएका छन् । न्यायालयको नेतृत्वको आदेश प्रशासनले नै नमान्ने यो घटनाले सर्वोच्चभित्रको शक्ति संघर्षलाई सडक र सदनपछि अब बारसम्म पुर्‍याएको छ ।


सम्बन्धित समाचार