Logo

४ जेठ, काठमाडौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिको क्षेत्रमा नेपालले एक ऐतिहासिक र महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

स्विट्जरल्यान्डको जेनेभामा जारी विश्व स्वास्थ्य सङ्गठनको ७९ औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको विशेष उद्घाटन सत्रमा नेपाललाई यो प्रतिष्ठित जिम्मेवारी सुम्पिने निर्णय भएको हो । वैश्विक स्वास्थ्य नीति निर्माण गर्ने सर्वोच्च निकायमा नेपालको यो चयनलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

महासभाको उपाध्यक्षमा निर्वाचित भएसँगै विश्वकै स्वास्थ्य रणनीति र योजनाहरूमा नेपालको उपस्थिति र भूमिका थप बलियो हुने विश्वास लिइएको छ । सहप्रवक्ता डा. अधिकारीले दिएको जानकारी अनुसार महासभाको सोही उद्घाटन सत्रमा नेपालका तर्फबाट नेतृत्व गरिरहेकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले विशेष सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

मन्त्री मेहताको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार नै जेनेभा प्रस्थान गरेको थियो । विश्वभरिका स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी यस उच्चस्तरीय मञ्चमा नेपालले पाएको यो जिम्मेवारीले मुलुकको अन्तर्राष्ट्रिय साख र कूटनीतिक क्षमतालाई नयाँ उचाइ दिएको छ ।


सम्बन्धित समाचार