Logo

५ जेठ, वीरगञ्ज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं सोमबार राति वीरगञ्जबाट पक्राउ परेका छन् । उनलाई पर्सा प्रहरीको विशेष टोलीले उनी रात्रिकालीन बास बसेको वीरगञ्जस्थित ‘होटेल सिद्धार्थ दियालो’ बाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जालमार्फत जथाभाबी अभिव्यक्ति दिने, सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि सञ्चालन गर्ने र नागरिकलाई राज्यविरुद्ध उक्साउने कार्य गरेको गुनासो र सूचनाका आधारमा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

सोमबार दिउँसो वीरगञ्ज आइपुगेका प्रसाईंलाई सिमरा विमानस्थलमा उनका समर्थकहरूले फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका थिए । प्रसाईंको आगमनसँगै वीरगञ्जका विभिन्न स्थानमा समर्थकहरूको चहलपहल र सुरक्षा संवेदनशीलता बढेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले मुख्य क्षेत्रहरूमा उच्च निगरानी बढाएको थियो ।

सोमबार राति आफू बसेकै होटलमा वीरगञ्जवासी र समर्थकहरूसँग भेटघाट तथा आन्तरिक छलफल गरिरहेका बेला प्रहरीले होटलमै पुगेर उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रसाईंलाई पक्राउ पुर्जी थमाए पनि कुन मुद्दा वा कुन विशिष्ट कारणले पक्राउ गरिएको हो भन्नेबारे स्पष्ट खुलाएको छैन । यस विषयमा आधिकारिक जानकारी लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतसँग पटक-पटक फोन सम्पर्कको प्रयास गरिए पनि उनको फोन उठेन । आज विहान मात्र फोन उठ्दा समान्य सोधपुछको लागि नियन्त्रणमा लिएको डीएसपी बस्नेतले बताए ।

तय गरिएको कार्यतालिका अनुसार प्रसाईंले मंगलबार (आज) दिउँसो १२:३० बजे वीरगञ्जको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा विशेष पूजा-पाठ गर्ने कार्यक्रम थियो । उनी बसेको होटलबाट समर्थकहरूसहित पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने तयारी गरिएको भए पनि राति नै प्रहरीले समातेपछि उक्त कार्यक्रम प्रभावित भएको छ ।

पछिल्लो समय व्यवस्था विरोधी र वित्तीय संस्था विरुद्धका मुद्दामा आक्रामक बन्दै आएका प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरू आक्रोशित बनेका छन् । पक्राउको विरोधमा होटल परिसर र जिल्ला प्रहरी कार्यालय आसपास जम्मा भएका समर्थकहरूले सरकारको राजनीतिक प्रतिशोध भन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । सम्भावित तनावलाई मध्यनजर गर्दै वीरगञ्जको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) बस्नेतले बताए ।


सम्बन्धित समाचार