५ जेठ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ६ दशमलव ५१ अङ्कले ओरालो लाग्दै २ हजार ७ सय २४ दशमलव ३९ को विन्दुमा खुम्चिएको छ । यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ० दशमलव ६८ अङ्कले घटेर ४६७।३७ मा सीमित हुन पुगेको छ ।
बजार परिसूचक ओरालो लागे पनि कारोबार रकमले भने ३ अर्बको सीमा पार गरेको छ । आज कुल ३४६ कम्पनीका ७८ लाख १६ हजार ४७८ कित्ता शेयरहरू ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिद(बिक्री भएका छन् । कारोबारका आधारमा सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड अग्रस्थानमा रहेका छन् ।
आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी र ग्लोबल आइएमई ब्यालेन्स फन्डका लगानीकर्ताहरूले नाफा कमाएका छन् । अर्कोतर्फ, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंकको ऋणपत्र र झापा इनर्जीका लगानीकर्ताहरूले भने नोक्सानी बेहोर्नुपरेको छ । बजारमा देखिएको यो उतारचढावले लगानीकर्ताहरूमा पर्ख र हेरको अवस्था सिर्जना गरेको छ ।

















