Logo

५ जेठ, (माडी) चितवन । चितवनको माडी नगरपालिकाले आर्थिक अनुशासन र सुशासनमा जिल्लाभरिकै पालिकाहरूलाई पछि पार्दै एक उत्कृष्ट नजिर स्थापित गरेको छ।

महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुसार माडी नगरपालिका चितवन जिल्लाकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बन्न सफल भएको हो।

चालू आर्थिक वर्षको प्रतिवेदनमा माडीको यो सुखद नतिजा सार्वजनिक भएसँगै यस नगरपालिकाको पारदर्शी खर्च प्रणाली र सुशासनमुखी कार्यशैलीको चौतर्फी प्रशंसा भइरहेको छ। महालेखाको विस्तृत प्रतिवेदन अनुसार समीक्षा अवधिमा माडी नगरपालिकाको कूल २ अर्ब १२ करोड १ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो।

सो रकममध्ये नगरपालिकाको बेरुजु रकम जम्मा ३३ लाख ४५ हजार रुपैयाँ मात्रै देखिएको छ, जुन कूल बजेटको केवल ०।१६ प्रतिशत मात्रै हुन आउँछ। यो तथ्याङ्कले माडीमा आर्थिक पारदर्शिता र वित्तीय उत्तरदायित्व निकै अब्बल र जिम्मेवार रहेको प्रमाणित गर्दछ।

जिल्लाका अन्य स्थानीय तहहरूको तुलनात्मक अवस्थालाई हेर्ने हो भने पनि माडीको यो वित्तीय नतिजा निकै लोभलाग्दो र ऐतिहासिक देखिएको छ। प्रतिवेदन अनुसार चितवनको राप्ती नगरपालिकाको बेरुजु १.४३ प्रतिशत, इच्छाकामना गाउँपालिकाको १.०७ प्रतिशत, कालिका नगरपालिकाको ०.६३ प्रतिशत तथा खैरहनी नगरपालिकाको ०.५३ प्रतिशत बेरुजु देखिएको छ। जिल्लाका अन्य पालिकाहरूको तुलनामा माडी नगरपालिका आर्थिक अनुशासन, कानुनी विधि व्यवस्था र प्रशासनिक जिम्मेवारीको दृष्टिले निकै अगाडि रहेको यसले पुष्टि गरेको छ।

नगरपालिकाले हासिल गरेको यो ऐतिहासिक सफलतामा जनप्रतिनिधि र कर्मचारीको सामूहिक एवं एकीकृत प्रयास मुख्य कडीका रूपमा रहेको छ। माडी नगरपालिकाकी नगर प्रमुख (मेयर) ताराकाजी महतोले सुशासन, पारदर्शिता र जिम्मेवार खर्च प्रणालीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएकै कारण यो सकारात्मक नतिजा सम्भव भएको बताउनुभयो।

उहाँले जनताको कर र राज्यको स्रोतलाई सही ढङ्गले उपयोग गर्ने प्रतिबद्धतासहित कर्मचारी तथा जनप्रतिनिधि एकताबद्ध भएर लागेको उल्लेख गर्दै विकास निर्माणसँगै वित्तीय सुशासनलाई आफूहरूले बराबरी प्राथमिकता दिएको र सार्वजनिक खर्चलाई पारदर्शी, मितव्ययी र जनताप्रति उत्तरदायी बनाउने प्रयासकै परिणामस्वरूप माडीले यो गौरवपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पार्नुभयो।

यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले वित्तीय अनुशासन कायम गर्न पालिकाको आन्तरिक नियन्त्रण प्रणालीलाई निकै प्रभावकारी र चुस्त बनाइएको जानकारी दिनुभयो। योजनाको कार्यान्वयन चरणदेखि अन्तिम भुक्तानी प्रक्रियासम्म कानुनी मापदण्ड र सार्वजनिक खरिद ऐनको कडाइका साथ पालना गरिएको स्पष्ट पार्दै उहाँले बेरुजु कम हुनु भनेको आर्थिक अनुशासन र संस्थागत जिम्मेवारी बलियो हुनुको बलियो सूचक भएको बताउनुभयो।

माडी नगरपालिकाले सुशासन र पारदर्शितालाई केवल नारामा मात्र सीमित नराखेर व्यवहारमै लागू गर्दै अघि बढेको परिणाम आज महालेखाको प्रतिवेदनले ओल्याएको भन्दै भुसालले आगामी दिनमा यसलाई शून्य प्रतिशतकै विन्दुमा पुर्‍याउने लक्ष्यका साथ आफूहरू क्रियाशील रहने दृढता समेत व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार