६ जेठ,काठमाडौं । ६ जेठ,काठमाडौं । कक्षा ११ को पठनपाठन आगामी १ असारदेखि सुरु हुने भएको छ। शिक्षा मन्त्रालयले सोही मितिदेखि कक्षा सञ्चालन गर्ने कार्ययोजना तयार पारेको जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले शैक्षिक सत्रलाई समयमै अघि बढाउन कक्षा ११ पनि छिट्टै सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार कक्षा सञ्चालन सम्बन्धी फाइल तयार भइसकेको छ र केही दिनभित्र औपचारिक निर्णय हुने तयारी छ।
यस वर्ष एसईईको नतिजा २९ दिनमै प्रकाशित भएको थियो। २८ वैशाखमा नतिजा सार्वजनिक भएपछि विद्यालयहरूमा भर्ना प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ।
सरकारले शैक्षिक सत्र ढिला हुन नदिन र विद्यार्थीको सिकाइ प्रक्रिया प्रभावित नहुने गरी समयमै कक्षा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। सामुदायिक र निजी विद्यालयहरूले पनि १ असारदेखि नै कक्षा सुरु गर्ने तयारी गरिरहेका छन्।
यसैबीच, शैक्षिक सत्र नियमित बनाउन हिउँदे र वर्षे बिदा घटाउने तथा शुक्रबार पूर्ण समय कक्षा सञ्चालन गर्ने व्यवस्था पनि लागू गर्ने तयारी गरिएको छ।

















