Logo

६ जेठ,काठमाडौं । बुद्ध एयर को ‘कल साइन ९०१’ जहाज दुर्घटनापछि चन्द्रगढी विमानस्थल को धावनमार्ग नजिक राखिएको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।

गत पुस १८ गते काठमाडौंबाट आएको बुद्ध एयरको जहाज अवतरणका क्रममा तीव्र गतिका कारण धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिमी किनारको खोल्सीमा खसेको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ५१ यात्रुमध्ये सात जना घाइते भएका थिए ।

दुर्घटनापछि जहाजको अवशेष घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । धावनमार्गको छेउमै दुर्घटनाग्रस्त जहाज देखिँदा यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढेको भन्दै गुनासो आउने गरेको थियो ।

चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्री का अनुसार प्राविधिक अनुसन्धान तथा बिमा मूल्याङ्कन प्रक्रियाका कारण अवशेष लामो समयसम्म हटाउन नसकिएको हो ।

“दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक अनुसन्धान पूरा गरिसकेका छन्,” प्रमुख खत्रीले भने, “अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा हटाइने तयारी भइरहेको छ ।”

उनका अनुसार जहाज हटाउने स्वीकृत प्रक्रियाअनुसार विमानको बडीबाट ‘बुद्ध एयर’को नाम, लोगो तथा अन्य पहिचान खुल्ने चिह्नहरू हटाइसकिएको छ ।

“अहिले विमानको बडीमा बुद्ध एयर लेखिएका कुनै पनि अक्षर वा चिह्न बाँकी छैनन्, जहाजको आकार मात्र देखिन्छ,” उनले भने, “बिमा कम्पनी आफैंले आगामी १० दिनभित्र अवशेष व्यवस्थापन गर्नेछ ।”


सम्बन्धित समाचार