७ जेठ,काठमाडौं । कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति कार्य सुरु गरिएको छ। राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत उत्तर–दक्षिण जोड्ने सडकलाई दीर्घकालीन तथा सुरक्षित बनाउने उद्देश्यले स्तरोन्नति थालिएको हो।
आयोजनाले सालबसाली ठेक्का सम्झौताअनुसार करिब सात करोड रुपैयाँ लागतमा नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको जनाएको छ। विसं २०७६ अघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्डअन्तर्गतको पहिलो खण्डमा वर्षा, पहिरो तथा सडक संरक्षण संरचना अभावका कारण आंशिक क्षति पुगेपछि मर्मत तथा स्तरोन्नति आवश्यक भएको हो।
गत वर्षको साउनमा केही स्थानमा सडक भासिएको तथा ड्रेन, प्रोटेक्सन वाललगायत पूर्वाधार नहुँदा संरचनामा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका र मुक्तिनाथ जोड्ने सडकलाई सुरक्षित तथा व्यवस्थित बनाउन ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो। उनका अनुसार कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सन ले सडक स्तरोन्नतिको जिम्मा लिएको छ।
निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाका अनुसार चालु आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता भई जेठको पहिलो सातादेखि काम सुरु गरिएको हो। चार महिनाको सम्झौता अवधिभित्र भदौ १५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना अन्तर्गत सडकमा ग्याविन वाल, मेसिनरी वाल, प्लम्प कङ्क्रिट, आरसिसी ढलान, ड्रेन निर्माण तथा सडक संरक्षणका विभिन्न संरचना निर्माण गरिने जनाइएको छ। साथै वर्षाका कारण क्षति पुगेका स्थानमा विशेष संरक्षणका कामसमेत गरिनेछ।

















