Logo

८ जेठ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले अवैध रूपमा भारतबाट भित्र्याइएका जिउँदो कुखुराहरू नियन्त्रणमा लिएर नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ३, श्रीनगर बैरियास्थित नहर खण्डको बाटो हुँदै भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको ४८ वटा कुखुरा आज बिहान ९:०० बजे नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ती अवैध कुखुराहरूलाई आजै इलाका प्रहरी कार्यालय सिम्रौनगढको हाताभित्र खाल्डो खनेर पुरेर नष्ट गरिएको छ। कुखुरा नष्ट गर्ने क्रममा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विवेक मेहता, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। खुला सिमानाको फाइदा उठाउँदै तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सक्रियता बढाएपछि उक्त अवैध खेप समातिएको हो।

यसैबीच, भारतबाट अवैध रूपमा भित्रिएका सस्तो मूल्यका कुखुराका कारण स्थानीय उत्पादनले बजार नपाएको भन्दै सिम्रौनगढका नेपाली कुखुरा फार्म सञ्चालक तथा व्यवसायीहरू आन्दोलित बनेका छन्।

सिम्रौनगढ बजारका विभिन्न मासु पसल तथा स्टलहरूमा भारतीय कुखुरा खुलेआम बिक्री भइरहेको थाहा पाएपछि नेपाली व्यवसायीहरूको टोली आज बजार अनुगमनमा निस्किएको थियो। उनीहरूले बजारमा रहेका हरेक कुखुरा बिक्री स्टलमा पुगी भारतबाट अवैध रूपमा कुखुरा नल्याउन र बिक्री नगर्न कडा चेतावनी दिएका छन्।

विदेशी अवैध कुखुराका कारण स्वदेशी लगानी डुब्ने अवस्थामा पुगेकाले प्रशासनले नाकामा थप कडाइ गर्नुपर्ने र स्थानीय व्यवसायीले पनि सचेत बन्नुपर्ने माग फार्म सञ्चालकहरूले राखेका छन्।


सम्बन्धित समाचार