८ जेठ, (माडी) चितवन । चितवनको माडी–७, जगन्नाथपुरीस्थित बालकल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति ९वि।व्य।स।० अध्यक्षमा गिरिधारी सुवेदी पुनः चयन हुनुभएको छ। यसअघि पनि एक कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएका सुवेदीलाई शुक्रबार सम्पन्न बृहत् अभिभावक भेलाले आगामी कार्यकालका लागि पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी प्रधानका अनुसार आज सम्पन्न अभिभावकहरूको विशेष भेलाले वि।व्य।स। सँगै शिक्षक अभिभावक सङ्घको नयाँ कार्यसमितिसमेत सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको अन्य सदस्यहरूमा कृष्णप्रसाद तिवारी, भिमाकुमारी रानाभाट र सङ्गीता सुवेदी चयन हुनुभएको छ। यसैगरी, नियमानुसार शिक्षक प्रतिनिधिको रूपमा शिशिर अधिकारी र स्थानीय वडा सरकारको तर्फबाट वडाध्यक्ष चन्द्रकुमारी बानियाँ सदस्य रहनुभएको छ भने विद्यालयका प्रधानाध्यापक केशवराज अधिकारी पदेन सदस्य–सचिव रहनुभएको छ।
त्यसैगरी अभिभावक भेलाले विद्यालयको आन्तरिक सुधार र समन्वयका लागि शिक्षक अभिभावक सङ्घको नयाँ नेतृत्व पनि चयन गरेको छ। सङ्घको अध्यक्षमा पूर्णप्रसाद सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा टेकबहादुर भुजेल, कमल चेपाङ र ममता परियार चयन हुनुभएको छ।
माडी–७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय अभिभावक भेलाले विद्यालयको शैक्षिक गुणस्तर उकास्न, भौतिक पूर्वाधारको विकास गर्न र प्रशासनिक गतिविधिलाई अझ बढी पारदर्शी एवं सुदृढ बनाउन नयाँ कार्यसमितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अनुभवी नेतृत्वको पुनरागमन र उत्साहजनक नयाँ टोलीका कारण विद्यालयले आगामी दिनमा थप नयाँ उचाइ हासिल गर्ने विश्वास स्थानीय शिक्षाप्रेमीहरूले व्यक्त गरेका छन्।


















