९ जेठ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिन अत्यधिक गर्मी हुने तथा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी जारी गरेको छ।
प्राधिकरणले शनिबार विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको हिट वेभ अर्थात् तातो हावाको लहर चल्ने सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभाग को बुलेटिनलाई आधार मान्दै आजदेखि पर्सिसम्म दिउँसोको समयमा अत्यधिक गर्मी हुने पूर्वानुमान गरिएको छ।
प्राधिकरणका अनुसार अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले ६ जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ। ती जिल्लामा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्।
त्यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडी लाई नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ।
प्राधिकरणले अत्यधिक गर्मीको समयमा दिउँसो बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

















