९ जेठ,वीरगञ्ज ।विश्व हिन्दू परिषद् नेपाल ले नेपाल हिन्दू पत्रकार संघ लाई ३० थान ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जको माईस्थान अतिथि सदन, वीरगञ्ज मा आयोजित विशेष कार्यक्रममा परिषद्ले उक्त ज्याकेटहरू पत्रकार संघलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा ज्योति रुङ्गटा ले पत्रकार संघका अध्यक्ष राजन रौनियार लाई ज्याकेट हस्तान्तरण गर्नुभयो। सोही अवसरमा उपस्थित पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई ज्याकेट लगाइदिएर सम्मान पनि गरिएको थियो।
कार्यक्रमकै क्रममा लामो समयदेखि वीरगञ्जमा सक्रिय पत्रकारिता गर्दै आएका दीपक चौरसिया लाई पनि पत्रकार संघमा औपचारिक रूपमा आबद्ध गराइएको छ। उनलाई संघका अध्यक्ष र सचिवले संगठनको प्रेस ज्याकेट लगाइदिएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै ज्योति रुङ्गटाले पत्रकारहरूको पहिचान र सुरक्षामा सहयोग पुग्ने उद्देश्यले ज्याकेट हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले पत्रकारहरू समाज रूपान्तरणको अग्रपंक्तिमा रहने भएकाले उनीहरूको कार्यलाई सहज बनाउन यस्ता सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी, ज्याकेट ग्रहण गर्दै अध्यक्ष राजन रौनियारले विश्व हिन्दू परिषद्प्रति आभार व्यक्त गर्दै यो सहयोग पत्रकारहरूको पहिचान र जिम्मेवारीको प्रतीक भएको उल्लेख गर्नुभयो।
कार्यक्रम संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।