Logo

९ जेठ,काठमाडौं । प्रहरीले काठमाडौंको गोङ्गबु क्षेत्रबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सप्तरीकै राजविराज–१३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्दै आएका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्टहाउसमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउण्ड गोली तथा मेटलको ‘नक’ बरामद गरेको जनाएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार