Logo

९ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंक ले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा साक्षरता नभएका व्यक्तिलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता सेवाग्राहीलाई विशेष काउण्टरमार्फत प्राथमिकताका साथ सेवा दिनुपर्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार इजाजतप्राप्त संस्थाले आपसी सहकार्यमा प्रत्येक पालिकामा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा समेत राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, ‘एटिएम लाउञ्ज’ भएका स्थानमा ब्रेललिपि र ध्वनि सहयोगसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा सम्बन्धित संस्थाले ती सेवा उपलब्ध गराउनुपर्नेछ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका वेबसाइट र मोबाइल एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत सहज रूपमा प्रयोग गर्न सक्ने गरी विकास गर्न निर्देशन दिएको छ। साथै, क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधि जडान गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैबीच, अतिरिक्त समयमा काम गराउँदा कर्मचारीलाई थप पारिश्रमिक उपलब्ध गराउनुपर्ने तथा कार्यालय समयबाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा समेटिएको छ।


सम्बन्धित समाचार